विषयप्रवेश:
भानुभक्त आचार्य (वि.सं.१८७१–१९२५) नेपाली साहित्यका आदि प्रतिनिधि कवि
हुन् । नेपाली वाङ्मय र जनजीवनकासमेत भानु (सूर्य का रूपमा परिचित भानुभक्तको
बधूशिक्षा, भक्तमाला र केही फुटकर पद्य रचना जस्ता मौलिक कृति र प्रश्नोत्तर
र रामायण जस्ता अनुदित कृतिहरू प्रकाशित छन् । धार्मिक आध्यात्मिक भावना
र नीतिचेतनाका माध्यमबाट समाज सुधार गर्ने एवम् जनजागरण ल्याउने उद्देश्यले
लेखिएका उनका कृतिहरूमध्ये रामायण अध्यात्म रामायणको भावानुवाद भए पनि
सर्वाधिक लोकप्रिय र चर्चित कृतिका रूपमा देखिन्छ । अध्यात्मप्रेम, राष्ट्रप्रेम, नेपाली
भाषाप्रेम, प्रकृति चित्रण, सरलता, सहजता र सुबोधता कवि भानुका नीजि वैशिष्ट्य हुन्।
नेपाली समाजका सुखदु:खका विविध प्रसङगलाई बिम्बात्मक र कलात्मक रूपमा चित्रण
गरिएका यिनका कृतिहरूमा नेपाली समाजको प्रतिबिम्ब भेटिन्छ ।
बधूशिक्षाको विश्लेषण
संरचना र आयाम:
बधूशिक्षा (१९१९ रचना) मित्र तारापतिको घरमा बास बस्न जाादा सासू बुहारीको
गृहकलह सुनेर दिक्दार भएका भानुभक्तले बुहारीहरूलाई तत्कालीन समयानुकूल
व्यवहारिक शिक्षा दिनका लागि एकै रातमा लेखेको औपदेशिक कृति हो । शिक्षाको
अवसरबाट पूर्णत: वञ्चित नेपाली नारीहरूलाई कर्तव्यबोध गराई आदर्श परिवारको
निर्माण गरी शान्त र सुव्यवस्थित समाज, परिवार निर्माण गर्ने उद्देश्यका साथ लेखिएको
यो कृति ३३ श्लोकमा संरचित छ । यस कृतिमा प्रस्तावना खण्ड र उपदेश खण्ड
गरी दुई खण्ड रहेका छन् । प्रस्तावना खण्ड पृष्ठभूमिका रूपमा रहेको छ भने उपदेश
खण्डमा उनले तत्कालीन समाज अनुकूलका विविध अर्ति उपदेश दिएका छन् ।
बधूशिक्षामा नीतिचेतना:
नैतिक आदर्शद्वारा सामाजिक जीवन मार्ग प्रदर्शन गर्न वा नैतिक उपदेशमाथि
लेखिएका कृतिलाई नीतिपरक, नीतिचेतनामूलक कृति मानिन्छ । साहित्यले समाजलाई
सत्मार्गमा डोर्याउनुपर्छ र नैतिक सन्देश दिएर मानवजीवनलाई आदर्शमय बनाउनु
पर्छ भन्ने मान्यताका साथ लेखिएको भानुभक्त आचार्यको मौलिक औपदेशिक कृति हो।
यसमा विशेषत: पत्नी, बुहारी र छोरीहरूलाई तालिम दिनका लागि लेखिएको कुरा
स्वयम् कविले स्वीकारेका छन् ।
‘यस्ले पत्नि, बुहारि, छोरिहरुको तालिम् गरौला भनी’ (श्लोक: २, भा.रा.पृ:२३८)
रजस्थल (भानु विशेषाङ्क–२०७०)
पुरूष प्रधान समाज भए पनि हैकम निर्देशन पुरूषकै चलेतापनि परिवारमा
नारीको अहम् भूमिका देखिन्छ । नारी त्याग, समर्पण र स्नेहकी प्रतिमूर्ति हुन्, ममताकी
खानी हुन् । नारीले छोरी, दिदीबहिनी, पत्नी, बुहारी, आमा आदि बनेर सृष्टि थामेकी
छन् । संसार सजाएकी छन् । नारी शिक्षित, सचेत र सभ्य भएमा परिवारका सबै सदस्य
शिक्षित र सभ्य हुन्छन् । नारी कर्कशा र कलहप्रिय भएमा घर शोभा र सौन्दर्यविहीन
हुन्छ । कवि भानुभक्तले तत्कालीन अन्धकारमय परिवेशमा पनि नारीको गरिमा
र महिमालाई बुझेर नारीहरूलाई घरव्यवहार सञ्चालन गर्ने तौरतरीका सिकाउन
बधूशिक्षा लेखे । बिहान सबेरै उठेर ईश्वरको ध्यान गर्नु, पतिप्रति सद्भाव राख्नु,
नित्यक्रिया र नुहाइधुवाइ गरेर मान्यजनलाई अभिवादन गर्नु, घरायसी कामकाजमा
नोकरचाकरलाई खटाउनु र आफू पनि खटिनु, ईश्वर वा इष्टदेवको पूजा गर्नु, मुठीदान
गर्नु, सरसफाईमा ध्यान दिनु सभ्य समाजका सूचक हुन् । यस्ता कामकाजमा नारीको
सक्रियता वर्तमानमा पनि बढी नै देखिन्छ ।
पत्नीले पतिको मनोभावना र पतिले पत्नीको मनोभावना बुझेर काम गरेमा,
सद्विचारको कदर गर्ने संस्कारको विकास भएमा दाम्पत्य जीवन सुखमय हुन्छ ।
भावी सन्ततिहरू पनि सभ्य र सुसंस्कृत हुन्छन् । नारीहरू सौन्दर्यका पारखी हुन्छन् ।
यसमा स्नानादिपश्चात् नित्य टीका लगाई पूजासामग्री तयार गरी ध्यानपूर्वक भान्छाको
कामकाज गर्न नारीहरूलाई अर्ति दिइएको छ ।
रोगी, बालक र वृद्धलाई सेवा गर्नु मानव धर्म हो । मानवतावादी चिन्तन हो ।
उनीहरूको समस्या बुझेर समुचित आहारविहारमा ध्यान दिनु, विशेष हेरचाह र सुसार
गर्नु, पत्नी बुहारीहरूको प्रमुख दायित्व हो भनी कविले सम्झाएका छन्:
‘रोगी, बालक, वृद्ध कोहि घरमा हुन्छन् त तिन्को पनी
घत् जानीकन तम्तयार ति गरून् खान्या छ यस्तो भनी’
(श्लो: ८, भा.रा. पृ: २३९)
मायाममता, प्रेम, सत्कर्म र सद्व्यवहारले सासूससुरा र पतिलाई मात्र नभई
संसारलाई जित्न सकिन्छ । बुहारी गृहिणी पनि भएकीले घरका जहानको ख्याल
राख्नु, यथासमयमा खुबाउनु, पियाउनु उनको परम दायित्व हो । घरपरिवार, आफन्त,
इष्टमित्र र बन्धुबान्धवको खुसी र सन्तुष्टिलाई आफ्नै खुसी र सन्तुष्टि मान्ने उदारमाना
नारीहरू अझै हाम्रो समाजमा भेटिन्छन् । त्याग, समर्पण र सेवाभावबाट परिवारजनलाई
वशमा राख्न सक्नु असल नारीको खुबी हो, शक्ति र सामथ्र्य हो । यस्ता सामथ्र्यवान
नारीहरूले कर्तव्यको ख्याल गरी घरव्यवहार आफ्नो हातमा लिएर पतिलाई व्यवहारिक
तनाव र झन्झटबाट मुक्त राखेको अत्याधुनिक समाजमा पनि देखिन्छ ।
भोकानाङ्गा र दीनदु:खीहरूप्रति दया गर्नु, अतिथि र इष्टमित्रहरूलाई यथोचित
मानमर्यादा दिनु, कर्तव्यमा कहिल्यै नचुक्नु, आखिरमा मरेर जाने चोला भएकाले संसार
तर्ने अर्थात् अमरत्व प्राप्त गर्ने कर्म गर्नु, घरपालुवा पशुपन्छीले नि खाए नखाएको ख्याल
रजस्थल
गर्नु बुहारीको लागि मात्र नभई मानव मात्रका लागि अनुकरणीय छन् ।
खानेकुरा शुद्ध र सफा हुनुपर्छ, ढाकेर राख्नुपर्छ । यस्ता कुरामा भान्सामा काम
गर्नेले विशेष ध्यान दिनुपर्छ । पकाएका खाने चीज, फलफूल आदि कि आफूले उपभोग
गर्नुपर्छ कि दीनदु:खीलाई दिनुपर्छ । अन्न कहिल्यै फाल्नु हुन्न । आफूसाग भएर पनि
खान र दिन जानिएन, कुनै चिजबिज घरमा भए नभएको ख्याल गरिएन र कुनै वस्तु
वा चिजबिज भएर पनि त्यसको ज्ञान छैन भने हुनु र नहुनुमा केही फरक छैन । घरमै
भएका वस्तुहरू पनि आवश्यक पर्दा काम लाग्दैनन् र त्यसको उपभोग गर्न पाइदैन भने
त्यसको कुनै अर्थ हुादैन । यिनै कुरालाई कविले कवितात्मक रूपमा प्रस्तुत गरेका छन्:
‘खान्या चिज कुहेर फाल्नु नपरोस् दीनू कि खानू बरू’
(श्लो: २१, भा.रा., पृ: २४१)
चीज् ता छन् घरमा तथापि मनमा छैनन् त भै क्या भयो
आखिर् चीज् घरमा भई बखतको काम् सब् बिती गै गयो । ।
(श्लो: २२, भा.रा., पृ: २४१)
घरमा आएका पाहुनालाई नखुबाई आफूले केही नखानु, कामका लागि झिकेका
वस्तुहरू समुचित ठाउामा थन्क्याएर राख्नु, सामानहरू चोरबाट जोगाएर राख्नु, अल्छी
नगर्नु, राति सुत्नुपूर्व पतिपत्तीले आवश्यक सरसल्लाह गर्नु, पत्नीले पतिलाई दिनभरि
गरेका कामकाजहरूको जानकारी गराउनु, पतिले पनि आवश्यक सरसल्लाह दिनु,
सुमधुर बोलीवचन, नम्रता र हार्दिकताजस्ता गुणहरूले अरूको मन जित्ने प्रयास गर्नु
नारीका साथै मावन मात्रका लागि उपयोगी अर्ति उपदेश हुन् ।
यसरी बधूशिक्षामा बिस्कुन सुकाउने, सरसफाई गर्ने जस्ता सामान्य कुराहरूदेखि
लिएर मिलेर बस्ने, अतिथि सत्कार गर्ने, सबैलाई यथोचित मानमर्यादा दिएर घरव्यवहार
सञ्चालन गर्ने जस्ता धार्मिक, नैतिक र पौराणिक दृष्टिले विशिष्ट प्रकृतिका उपदेश
दिएको देखिन्छ । एउटी कुशल गृहिणीले व्यवहारपटुता प्रदर्शन गरी घरलाई शान्त
र समुन्नत बनाउन सक्छिन् । त्यसैले भानुले बधूशिक्षामा दिएका अधिकांश उपदेश
वर्तमान सन्दर्भमा पनि उपयोगी देखिन्छन् ।
लोग्नेले सौता हाले पनि रिस गर्न नहुने, सती जान बाध्य बनाउने, नारीलाई हास्न
पनि प्रतिबन्ध लगाउने, हास्ने र ख्याल ठट्टा गर्न खोज्ने नारीहरूलाई वेश्या वा घरको
कामकाज बिगार्ने नारीको संज्ञा दिने जस्ता बधूशिक्षाको कपितय सन्दर्भहरू वर्तमान
समाजका लागि अपाच्य छन् । पतिलाई परमेश्वर सम्झनु, पतिको पूजा सम्मान गर्नु
राम्रो कुरा हो तर पतिको खुट्टा पखालेर जल खाने, सो जल शरीरमा छर्केर शरीर
पवित्र भएको ठान्ने प्रवृत्ति र प्रसङ्गहरू वर्तमान सभ्य समाजमा सुपाच्य हुनै सक्तैनन्
जस्तै:
‘स्वामीका चरणविन्द युगको जल् भक्तिले पान् गरून्
निर्मल् देह गराउनकन उ जल् केही शरीरमा छरून्’ (श्लोक ५, भा.रा. पृ:२३६)
रजस्थल (भानु विशेषाङ्क–२०७०)
पतिको सदिच्छा पूरा गर्नु पत्नीको कर्तव्य हो । तर पतिका खराब चाहनापूर्ति
गर्न अग्रसर हुनुहुादैन । धूमपान, मद्यपानजस्ता दुव्र्यसन छुटाउनु कुशल नारीको कुशलता
हो । कसैले कसैलाई पनि धूमपान गर्न प्रोत्साहित गर्नु हुादैन तर धुमपान गर्न नारीले
सहयोग गर्नुपर्ने र आवश्यक प्रबन्ध मिलाइदिनुपर्ने जस्ता खराब प्रसङ्ग पनि यस कृतिमा
भेटिन्छ:
‘भन्छन् ल्यान तमाखु खान्छु भनि ता चााडै तमाखू भरोस्’
(श्लोक, २८, भा.रा. पृ: २४२)
‘किस्मिस् दाख, बदाम, मिस्रि, नरिवल् जो चीज् छ सो सो दिई
पाऊ मिच्न तयार भै अघि सरोस् तेल्को कटौरा लिई’
(श्लोक २८, भा.रा. पृ: २४२)
तत्कालीन परिवेशमा किस्मिस्, दाख, बदाम, नरिवलजस्ता पौष्टिक वस्तुहरू
सर्वसाधारणको पहुाचमा थिएनन् । दाल, भात त नपाउने स्थितिमा उपर्युक्त पौष्टिक
वस्तुको ज्ञान र कल्पना पनि आम नेपालीमा थियो भन्न सकिदैन । पाउ मिच्ने, पाउ
मिचेर पतिलाई खुसी तुल्याएर आफ्ना कुराहरू सुनाउने, काममा निरन्तर खट्नु पर्ने
जस्ता प्रसङ्गबाट नारीहरू भेदभावपूर्ण, असमान र हेपिएको जीवन बााच्न विवश भएको
तत्कालीन यथार्थतालाई कृतिमा चित्रण गरिएको छ ।
निष्कर्ष:
विशेषत: बुहारीहरूलाई उपदेश दिने उद्देश्यले लेखिएको बधूशिक्षा भानुभक्तका
मौलिक रचनाहरूमध्ये चर्चित कविता हो । तत्कालीन समाजको यथार्थको चित्रण
गरिएको भए पनि प्रस्तुत कृति मूलत: औपदेशिक, नीतिपरक मान्यतामा आधारित
देखिन्छ । यसमा वर्णित नीति र उपदेशहरू हिन्दू धर्म र पुराणमा आधारित छन् ।
नारीलाई हाास्नसमेत प्रतिबन्ध लाउने, सती जान प्रेरित गर्ने, नारीलाई मात्र काममा
लगाउने जस्ता सन्दर्भहरूले गर्दा कविता दोषरहित बन्न सकेको देखिदैन तर वि.सं.
१९१९ मा लेखिएको यस कृतिलाई २१ औं शताब्दीको सापेक्षतामा नभई तत्कालीन
समाजका सापेक्षतमा अध्ययन विश्लेषण गर्नुपर्ने हुन्छ । शिक्षाको आलोकबाट पूर्णत:
वञ्चित नारीहरूलाई व्यावहारिक ज्ञान दिनु, समय सापेक्ष अर्ति उपदेश दिएर आदर्श
घर परिवार निर्माण गर्नु नै भानुको अभीष्ट देखिन्छ । तसर्थ समकालीन युगीन दृष्टिले
बधूशिक्षालाई अध्ययन गरेर भानुलाई नारी विरोधी भनेर आक्षेप लगाएमा उनीप्रति ठूलो
अन्याय हुनेछ । इस कृतिका कतिपय प्रसङ्गहरूलाई सार वा व्यङग्यार्थमा बुझनुपर्ने
देखिन्छ । समाज पितृसत्तात्मक भएको र कविता पनि बधूलाई शिक्षा दिने उद्देश्यले
लेखिएकाले केही रूढिवादी र अतिवादी प्रसङ्गलाई छोडेर प्रस्तुत कृति सामयिक नै
देखिन्छ । अत: बधूशिक्षालाई तत्कालीन परिवेशको उपयोगी कृति मान्न सकिन्छ ।
(उपप्राध्यापक, भुनावीशंकर बहुमुखी कलेज चितवन)